

काठमाडौँ । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयले प्रेस नोट जारी गर्दै स्थानान्तरणको क्रममा रहेका, सहायताको पर्खाइमा रहेका वा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई सरकारले तोकेको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो।
सरकारले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकेको छ। मन्त्रालयका अनुसार वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन प्रक्रिया अघि बढाइएको छ र उनीहरूलाई व्यवस्थित रूपमा राख्न होल्डिङ सेन्टरको व्यवस्था गरिएको छ।
ती होल्डिङ सेन्टरहरूमा आवास, भोजन र स्वास्थ्य सेवासँगै बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
विशेषगरी वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गर्दै मन्त्रालयले दर्ता प्रक्रिया पूरा गरी सरकारी सेवा सुविधाको लाभ लिन आग्रह गरेको छ। साथै, नागरिकहरूको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।