सुरक्षा निकायका आउटलेटबाट पनि एलपी ग्यास बिक्री गर्ने तयारी

सुरक्षा निकायका आउटलेटबाट पनि एलपी ग्यास बिक्री गर्ने तयारी

काठमाडौं । सरकारले सम्भावित अभाव र आपूर्ति समस्या न्यूनीकरण गर्न सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रबाट पनि खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सुरक्षा निकायमार्फत ग्यास वितरणको व्यवस्था मिलाउन लागिएको जानकारी दिएका हुन्।

सचिव तामाङका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन्। ती निकायका आउटलेटबाट पनि एलपी ग्यास बिक्री गर्न सके आपूर्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ छ।

‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। सुरक्षा निकायका आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ,’ उनले भने।

सुरक्षा निकायले सञ्चालन गर्ने पेट्रोलियम बिक्री केन्द्रमा कम्तीमा एक–दुई वटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको उनले बताए। सम्भावित ग्यास अभावलाई मध्यनजर गर्दै आपत्कालीन अवस्थामा समेत सहज रूपमा आपूर्ति गर्न सकिने गरी पूर्वतयारी अघि बढाइएको सचिव तामाङले जानकारी दिए।