मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो स्थानमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौँ स्थानमा थिइन् ।

नयाँ मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन् । यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, चौथो स्थानमा रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, पाँचौँ स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ छैटौँ र छैटौँ स्थानमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन् ।

यसरी गौतमको मर्यादाक्रम चार स्थानले सुधार हुँदा उनीभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल झरेका छन् ।

नयाँ मर्यादाक्रमअनुसार महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा यथावत् छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह १६औँ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा रहेका छन् ।