स्वास्थ्य बीमा ऐन संशोधनको तयारी, विधेयक कानुन मन्त्रालयमा पठाइयो

स्वास्थ्य बीमा ऐन संशोधनको तयारी, विधेयक कानुन मन्त्रालयमा पठाइयो

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ ।

यसैक्रममा बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग थप छलफल भएको छ ।

मन्त्री मेहताको नेतृत्वमा यसअघि पनि सम्बन्धित निकाय र सरोकारवालासँग चरणबद्ध रूपमा छलफल हुँदै आएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालयले आवश्यक छलफल र गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने विषयलाई प्राथमिकता दिइएको छ । साथै, आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यसैगरी स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने र स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने विषय पनि संशोधन प्रस्तावमा समेटिएका छन् ।

अनावश्यक परीक्षण तथा अनुचित दाबी नियन्त्रण गर्ने व्यवस्था पनि प्रस्तावित सुधारको प्राथमिकतामा रहेको छ ।

उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित कानुनी तथा नीतिगत सुधार अघि बढाइएको मन्त्री मेहताले बताएकी छन् ।