कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

चालकले नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै उद्धार गरिएका सबै घाइतेलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनाग्रस्त बस सडकबाट हटाएपछि राजमार्गमा यातायात आवागमन नियमित बनाइएको छ ।