३ हजारको सामान किनेर बिल लिएकी सन्तमायालाई पर्‍यो १० लाखको बम्पर उपहार

३ हजारको सामान किनेर बिल लिएकी सन्तमायालाई पर्‍यो १० लाखको बम्पर उपहार

काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। दसैँका लागि ३ हजार रुपैयाँको सामान खरिद गरेर बिल लिएकी तामाङ गोलाप्रथामार्फत बम्पर उपहारका लागि छनोट भएकी हुन्।

तामाङले नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि प्राप्त गरेको बिलको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएलगत्तै कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए।

सुरुमा आफूलाई कसैले जिस्क्याएको ठानेकी तामाङले कलाकारद्वयले यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि मात्रै उपहार जितेको विश्वास गरेकी थिइन्।

१६ जनाले पनि जिते जनही एक लाख रुपैयाँ

आन्तरिक राजस्व विभागका अनुसार बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिन एक जनाका दरले छनोट भएका विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

दैनिक उपहारको घोषित राशि जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको बैंक खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।

साढे तीन करोडभन्दा बढी कारोबार उपहार छनोटमा

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८८४ वटा कारोबारका बिल प्रविष्ट गरेर उपभोक्ता कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।

विभागले बम्पर तथा दैनिक उपहारका सबै विजेतालाई आगामी कात्तिक १५ गतेभित्र पुरस्कार दाबी गर्न आग्रह गरेको छ। पुरस्कार प्राप्त गर्न विजेताले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा उपस्थित हुनुपर्ने विभागले जनाएको छ।

सामान खरिद गर्दा बिल लिने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममार्फत उपभोक्तालाई आकर्षित गर्नुका साथै कर प्रणालीप्रति सचेतना बढाउने विभागको लक्ष्य रहेको छ।