

काठमाडौं । बाढीपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि ग्यास बोकेर आउँदै गरेका १ सय ५ वटा ग्यास बुलेट बाटोमै रोकिएका छन्। नेपाल आयल निगमका अनुसार बुधबारदेखि भइरहेको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरसहित विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन सकेका छैनन्।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सडकमा यातायात सञ्चालन हुनासाथ रोकिएका ग्यास बुलेट काठमाडौं भित्र्याइनेछ। उनका अनुसार १ सय ५ वटा बुलेटमा करिब १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ।
भारतको बरौनी, पारादीप र हल्दियालगायत स्थानबाट ग्यास लोड गरेर काठमाडौं आउँदै गरेका बुलेट चितवन, हेटौँडा तथा आसपासका क्षेत्रमा रोकिएका छन्। वीरगञ्ज भन्सारबाट क्लियरेन्स पूरा गरेका ती बुलेटमध्ये केही चितवनको रामनगर, हेटौँडा लगायतका स्थानमा रोकिएको निगमले जनाएको छ। काठमाडौं उपत्यकाका १६ वटा ग्यास ब्रान्डका लागि ती बुलेट लोड गरिएका हुन्।
सडक खुल्नासाथ बुलेट काठमाडौं भित्र्याएर प्रतिदिन ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने निगमले जनाएको छ। यसअघि आइतबार काठमाडौं उपत्यकामा १७ हजार सिलिन्डर ग्यास वितरण गरिएको निगमले जानकारी दिएको छ।
ग्यास आपूर्ति प्रभावित भएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सडक अवरोध हटेपछि आपूर्ति क्रमशः सहज हुने निगमको अपेक्षा छ।