

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ। दसैँको मुख्य पर्वका अवसरमा सफाइ कर्मचारीहरू पनि चाडपर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर सङ्कलन तथा व्यवस्थापन प्रभावित हुने महानगरले जनाएको हो।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै राख्न सबैलाई अनुरोध गरेकी छन्।
उनले फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाल्न आग्रह गर्दै भनिन्, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला।”
महानगरपालिकाले कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने नियमित रूपमा फोहोर व्यवस्थापन कार्य सञ्चालन हुने जनाएको छ। दसैँका बेला सहरको सरसफाइ कायम राख्न र सडक तथा सार्वजनिक स्थानमा फोहोर थुप्रिन नदिन महानगरपालिकाले नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।