भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात

भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरेको छ। यसबाट प्राधिकरणले ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी गरेको जनाएको छ।

प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) स्युचाटारका अनुसार भदौमा भारतको हरियाणा र बिहार राज्य तथा बंगलादेशसँगको द्विपक्षीय सम्झौतामार्फत र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरिएको हो।

भदौमा भएको कुल निर्यातमा द्विपक्षीय सम्झौतामार्फतको हिस्सा बढी रहेको छ। विद्युत् बजारमार्फत पनि उल्लेख्य परिमाणमा विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।

तर भोटेकोसी बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात हाल बन्द भएको छ। अन्य जलविद्युत् आयोजनाबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई अझ सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।