बजेट अभावले यस वर्ष खाद्य कम्पनीले खसीबोका नबेच्ने

बजेट अभावले यस वर्ष खाद्य कम्पनीले खसीबोका नबेच्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। सरकारी स्वामित्वको कम्पनीले हरेक वर्ष दसैँका बेला सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो। तर, यस वर्ष उक्त प्रयोजनका लागि बजेट विनियोजन नभएकाले खरिद तथा बिक्री नगर्ने निर्णय गरिएको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार खसीबोका खरिदका लागि यस वर्ष बजेट नै छुट्याइएको छैन।

‘अघिल्ला वर्षहरूमा दसैँका लागि खाद्यले सुपथ मूल्यमा खसीबोका बिक्री गर्दै आएको थियो। यस वर्ष भने बिक्री नगर्ने निर्णय भएको छ। यस शीर्षकमा यो वर्ष बजेट नै विनियोजन गरिएको छैन,’ मिश्रले भने।

बजार मूल्य नियन्त्रण तथा सन्तुलनमा राख्ने उद्देश्यले कम्पनीले हरेक वर्ष दसैँका समयमा काठमाडौं उपत्यकामा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो। यस वर्ष भने कम्पनीबाट सहुलियत मूल्यको खसीबोका तथा च्याङ्ग्रा उपलब्ध हुने छैन।

दसैँलाई लक्षित गर्दै कम्पनीले भने सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। भदौ २८ गतेदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन्।

सूचना अधिकारी मिश्रका अनुसार सुपथ मूल्य पसलबाट चामल, दाल, तेल, चिनी र नुनसँगै चिनो, कागुनो, फापर, सिमीलगायत स्थानीय उत्पादन बिक्री भइरहेको छ। दैनिक उपभोग्य वस्तुमा उपभोक्तालाई प्रतिइकाइ पाँच रुपैयाँसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।