

काठमाडौं । राजधानीको मुटु भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक डेढ करोड लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमताको अत्याधुनिक केन्द्र निर्माणधीन छ।
काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा फैलिएको २.५३ हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको प्रशोधन केन्द्र एसियाली विकास बैंक (एडिबी)को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो। कुल लागत रु ३ अर्ब १८ करोड रहेको यो केन्द्र आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
टुकुचा खोलाको प्रवाहलाई पथान्तरण गरी फोहोर पानी प्रशोधन गरेपछि वाग्मती नदीमा विसर्जन गरिनेछ। पानी शुद्धिकरणसँगै सहउत्पादनका रूपमा करिब ८०० किलोवाट विद्युत् उत्पादन हुने मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जानकारी दिएको छ।
हाल त्रिपुरेश्वरतर्फ प्रशोधन केन्द्रका प्रमुख संरचना निर्माण तीव्र रूपमा अघि बढिरहेका छन् भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचना निर्माण भने रोकिएको छ। ललितपुर पक्षमा विद्युत् उत्पादन गर्ने संरचना मात्र रहनेछन् भने मुख्य प्रशोधन संरचना त्रिपुरेश्वरमै निर्माणाधीन छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार निर्माण स्थलको निरीक्षण गर्दै कामको प्रगति हेरे। उनले आयोजनामा संलग्न टोलीसँग निर्माण तालिका, देखिएका समस्या तथा समाधानका उपायबारे छलफल पनि गरे।
मन्त्री घिसिङले वाग्मतीलाई स्वच्छ बनाउन सहायक खोलाहरूको व्यवस्थापन, किनार संरक्षण र ढल प्रशोधन संरचनालाई सरकारको शीर्ष प्राथमिकतामा राखेर काम भइरहेको बताए। निर्माण व्यवसायीहरूले त्रिपुरेश्वरतर्फका संरचना तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।