कोरियामा कृषि मजदुरलाई सास्ती

कोरियामा कृषि मजदुरलाई सास्ती

दक्षिण कोरिया : लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन्

उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा कार्यरत छन् । न्यौपाने भन्छन्, “नेपालमा भनेजति कोरियामा काम गर्न सजिलो छैन, भोग्नेलाई मात्रै यहाँको गाह्रो थाहा छ ।”

विश्वका १६ देशबाट आप्रावासी अदक्ष कामदार भिœयाएर कोरियाले काममा लगाउँछ । सबै देशबाट आएकाहरूको दिनचर्या रमेशकोभन्दा फरक छैन ।

ईपीएसमार्फत् ‘कृषि भिषा’मा करिब आठ महिना अगाडि कोरिया आएका न्यौपाने महिनाका दुई शनिबारवाहेक अन्य दिन घाम–पानी, धुवा–धुलो, चिसो थकाइ र दुख्यो केही भन्न पाउँदैनन् । उनी मासिक नेपाली रूपैयाँ करिब एक लाख २० हजार आर्जन गर्छन् । “महँगीले खबै खर्च कटाएर एक लाख रूपैयाँ बचत गर्छु,” न्यौपानेले भने ।

“कृषि भिषामा यहाँ काम गर्न अति गाह्रो छ । विहान उठेदेखि बेलुकी नसुतुन्जेल गोरुले जोतिएझै जोतिनुपर्छ, न खाना न त बस्नकै राम्रो ब्यवस्था, त्यसैमाथि साहुको व्यवहारले दिक्क बनाउँछ,” अनुहार मलिन बनाउँदै काभ्रेका विनोद ढकालले भने, “नआउनु थियो, आइहालियो अब केही वर्ष दुःख गर्छु, नेपाल फर्कन्छु र तरकारी व्यवसाय नै गर्छु ।”

फिनेल हाउसमा गाह्रो भएर काम परिवर्तन गर्न साहुसँग अनुमतिपत्र माग्दा नपाएपछि झापाका किरण शर्माले साहुलाई एक महिनाको कमाइ बुझाए । अनि मात्र काम सर्ने अनुमति पत्र पाए । अहिले उनी कुखुरा फार्ममा कार्यरत छन् ।

विहान उठेदेखि बेलुकी नसुतेसम्म हजारौं कुखुराको रेखदेख गर्नु, दानापानी दिनु र अण्डा उठाउनु उनको दैनिकी हो । “नेपालमा जे सोचियो, त्यसको ठिक विपरित भोगियो, कृषि भिसावालालाई कोरियाले ठगेको छ,” उनी भन्छन् ।

कोरियाको औद्योगिक क्षेत्रको रूपमा चिनिने थेगुस्थित सुँगुर फार्ममा कार्यरत पर्वतका कृष्ण नेपाली (२४‚ बस्तीभन्दा केही टाढा जंगलनजिकै फार्ममा काम गर्छन् । “सहर त धेरै टाढा छ, यो ठाउँमा आउँनका लागि ठूलो संघर्ष गरियो । केके न पाइएला जस्तो लाग्थ्यो । तर अहिले व्यर्थ लाग्दैछ,” भाइबरबाट उनले भने ।

पृथ्वीनारायण क्याम्पस पोखरामा स्नाकोत्तर अध्ययन गर्दागर्दै कोरिया हानिएका उनको दैनिकी हो– सँुगुरलाई दानापानी दिनु, खोर सफा गर्नु, र पाठापाठी स्याहार्नु । थ्रीडी अर्थात डर्टी, डेन्जर एन्ड डिफिकल्टका काम गर्नुपर्छ भन्दाभन्दै पनि कोरिया आउनु आफ्नै कमजोरी भएको बताउँछन् आन्सानको गाईफार्ममा कार्यरत तनहुँका कृष्ण केसी ।

“विहान चार बजेबाट राती नौ बजेसम्म गधाजस्तै खटिनुपर्छ, न खानाको, नत आराम गर्ने समयकै ठेगान छ,” उनी भन्छन्, “खाडी मुलुकभन्दा पनि दुःख र बेहाल छ कोरियामा कृषिको काम ।”

ख्वान्जुमा अवस्थित च्याउ कम्पनीमा कार्यरत सञ्जिव खड्काको दिनचर्या अलि फरक छ । उनलाई सुरुका दिन अति पट्यार लाग्थ्यो । फिनेल हाउसमा बाह्र घण्टा लगातार काम, पन्ध्र दिनमा एक दिन विदा, भाषाको समस्या, खानपानमा कठिनाई र मालिकको ब्यवहारलगायतका यावत कठिनाई सामना गर्न अति गाह्रो हुन्थ्यो । तर, च्याउमा काम गर्नथालेदेखि अलिक रमाईलो महसुस भएको उनले बताए ।

आन्सानस्थित गाई फार्ममा कार्यरत एक युवकको पेटमा समस्या देखिएको कारण उपचार बिदा माग्दा कम्पनी मालिकबाट दुव्र्यवहार सहनु परेको बताए । लमजुङका राम शर्मा ट्रकमा अण्डा लोड गर्दा क्यारेट ढलेर गम्भिर घाइते हुन पुगे ।

मालिकले सामान्य उपचार गरिदिएपनि उनले हात झमझमाउने समस्या बढ्दै गएको बताए । रौतहटका सञ्जिव श्रेष्ठ रिङगटा आउने समस्याबाट पिडित भएको गुनासो गर्छन । तर यहाँ काम गर्ने नेपालीहरूको हालत दयनीय भएपनि राजदूतावासले कुनै चासो नदिएको अधिकांश कामदारहरू बताउँछन् ।

यीनीहरूजस्तै कोरियामा रहेका नेपालीले शारिरिक, तथा मानासिक यातना पाउछन । समयमा तलब पाउँदैनन् । रोग लागेमा उपचार गर्ने विदा र आराम गर्ने समय पाउदैनन् । साथै खाना बनाउने र खाने समयको पनि ठेगान हुँदैन ।

कोरियामा कृषि, पशुपालन तथा माछापालन क्षेत्रभित्र पर्ने कामका प्रकारहरू तरकारीमा च्याउ, भटमासको जरा, बुछु साग, मिनारीसाग, साँछु साग, लसुन प्याज र फलफूल हुन् भने पशुपालनमा कुखुरा, बंगुर, गाई, कुकुर, मुसा, घोडापालनलगायत हुन् ।  -कारोबार दैनिकबाट