

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। दैनिक मागअनुसार ग्यासको नियमित आपूर्ति भइरहेको जनाउँदै निगमले बजारमा अभाव भएको भन्ने समाचार र उपभोक्ताबाट आएका गुनासाप्रति ध्यानाकर्षण भएको बताएको छ।
काठमाडौं उपत्यकामा बढ्दो मागलाई ध्यानमा राख्दै निगमले साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नै कार्यालयबाट पनि एलपी ग्यास बिक्री–वितरणको व्यवस्था गरेको जनाएको छ।
निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म टेकुबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत उपलब्ध गराइनेछ।
यसैबीच, निगमले सबै ग्यास उद्योग र विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर सहज रूपमा ग्यास वितरण गर्न निर्देशन दिएको छ। बिक्री प्रक्रियालाई व्यवस्थित बनाउन खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राख्न पनि भनिएको छ।
यदि बजारमा ग्यास उपलब्ध नभएमा उपभोक्ताले कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
निगमले एलपी ग्यासको आयात र वितरण नियमित रूपमा भइरहेकाले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा आवश्यकता अनुसार मात्रै खरिद गर्न उपभोक्तासँग आग्रह गरेको छ।
यसअघि पनि बजारमा ग्यास अभाव देखिएपछि निगमले टेकुबाट प्रत्यक्ष बिक्री सुरु गरेको थियो। पश्चिम एसियामा बढेको द्वन्द्वका कारण आपूर्तिमा दबाब परेको समयमा आधा सिलिन्डर वितरणको व्यवस्था गरिएपछि बजारमा आपूर्ति सहज बनेको थियो।