विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको निधन

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको निधन

काठमाडौं । विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो। बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ।

‘हामी गहिरो दुःखका साथ भन्न चाहन्छौं- निर्मल ‘निम्सदाइ’ पुर्जाले ब्रोडपिकमा हिमपहिरोमा परेर ज्यान गुमाउनु भएको छ। अरू आरोहीहरूको पनि जीवित नभेटिएको हामीले जानकारी पाएका छौं,’ एलिट एक्सपेडले वक्तव्य जारी गरी भनेको छ।

हिमपहिरोपछि केही दिनदेखि जारी खोज तथा उद्धार अभियानका क्रममा उनको अवस्था पत्ता लगाउने प्रयास भइरहेको थियो । अन्ततः सम्बन्धित निकायले उनको निधन भएको आधिकारिक पुष्टि गरेको हो । घटनाबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

निर्मल पुर्जा नेपाली पर्वतारोहण क्षेत्रका मात्र होइन, विश्व पर्वतारोहण समुदायकै एक प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित थिए । बेलायती सेनाको विशेष फौज (Special Boat Service–SBS) मा सेवा गरेपछि उनले पूर्णकालीन रूपमा पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाएका थिए ।