

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी हुन्। प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल २०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो २०२६ घोषित भए। प्रतियोगितामा वर्तमान मिस कोस्मो योलिन्डा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका व्यक्तित्व निर्णायकको भूमिकामा सहभागी थिए। प्रतियोगिता द हिडन ट्रेजर ले आयोजना गरेको हो।
मिस नेपालको ताज जितेकी दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधिसमेत जितिसकेकी छन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्।
बहुआयामिक प्रतिभाकी धनी दीपमाला ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन्। साथै, नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरका रूपमा पनि सक्रिय छिन्।
दीपमालाले मिस वर्ल्ड को अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभियानलाई विश्वस्तरमा विस्तार गर्ने लक्ष्य रहेको बताउँदै आएकी छन्। उनको परिवारसँग पनि मिस नेपालको विशेष सम्बन्ध छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।