चार दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार, नेप्से १२.९६ अंकले सुधार

चार दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार, नेप्से १२.९६ अंकले सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २,६८५.०० विन्दुमा पुगेको छ। लगातार चार कारोबार दिन ओरालो लागेको बजारले शुक्रबार भने सुधारको संकेत देखाएको हो।

यद्यपि, साताभरको कारोबारलाई हेर्दा नेप्से समग्रमा ४९ अंकले घटेको छ। गत शुक्रबार परिसूचक २,७३४ अंकमा रहेको थियो। पूर्वी तराईमा देखिएको असहज सुरक्षा अवस्थाले पनि यस साताको बजार मनोविज्ञानमा प्रभाव पारेको विश्लेषण गरिएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ। अधिकांश समूहगत परिसूचक हरियो रहे पनि सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कममा सीमित रह्यो।

समूहगत रूपमा बैंकिङ ०.७२ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.४८ प्रतिशत, जलविद्युत् ०.६९ प्रतिशत, लगानी ०.२३ प्रतिशत, जीवन बीमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशत, माइक्रोफाइनान्स ०.२४ प्रतिशत तथा अन्य समूह ०.९३ प्रतिशतले बढेका छन्। भने निर्जीवन बीमा ०.१६ प्रतिशत र व्यापार समूह ०.०७ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सूचीकृत भएयता कम्पनीको मूल्य निरन्तर उकालो लागिरहेको छ। त्यसैगरी जोशी हाइड्रोपावर ६.७९ प्रतिशत, अपर लोहोरेखोला ६.४४ प्रतिशत, युनिभर्सल पावर ४.३२ प्रतिशत र विकास हाइड्रोपावर ३.६८ प्रतिशतले उकालो लागेका छन्।

यता बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ। कालिन्चोक हाइड्रोपावर ३.५५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ३.०३ प्रतिशतले पनि मूल्य गुमाएका छन्।

कारोबार रकमका आधारमा शुक्रबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।