

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)सहित पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका १० आरोहीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी आरोहीको निधन भएको घटनाले आफू स्तब्ध भएको प्रधानमन्त्री शाहले बताएका छन्।
शोक सन्देश जारी गर्दै उनले भने, “विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ)सहित छ जना नेपाली तथा चार विदेशी आरोहीको दुःखद निधनले स्तब्ध बनाएको छ।” प्रधानमन्त्री शाहले निर्मल पुर्जालगायत सबै दिवंगत आरोहीहरूको भौतिक यात्रा अन्त्य भए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैं इतिहासमा जीवित रहने उल्लेख गरेका छन्।
उनले पर्वतारोहणलाई केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको प्रतीकका रूपमा व्याख्या गर्दै भने, “हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि अँगालेर पनि राख्छ।” प्रधानमन्त्री शाहले दिवंगत आरोहीहरू आफ्नो असाधारण साहस र समर्पणका कारण सधैं इतिहासमा अमर रहने विश्वास व्यक्त गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।