बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (चीफ बिजनेस अफिसर–सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पन्तलाई पक्राउ गरेको हो। कर्जा प्रवाह प्रक्रियामा अनियमितता गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

पक्राउ परेकी पन्तलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। अब उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ।

अनुसन्धान रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा भएको कथित अनियमिततासँग सम्बन्धित रहेको छ। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सोही प्रकरणमा अनुसन्धानका लागि सीआईबीको हिरासतमा छन्।

प्रभु बैंकले एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त कर्जा प्रवाहमा अनियमितता भएको तथ्य उजागर भएपछि अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले जनाएको छ।