

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ। बजारसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २,६८८.८८ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले घटेका छन्।
अघिल्लो कारोबार दिन ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४३ वटा कम्पनीका ९७ लाख ७७ हजार कित्ता शेयर ४८ हजार पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब २ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ।
यस दिन एभरेष्ट कलरको शेयर मूल्य लगातार आठौँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयर मूल्य १२९ रुपैयाँ १० पैसा बढेर प्रतिकित्ता ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य करिब १२.५ प्रतिशतले वृद्धि भएको छ भने अन्य कम्पनीहरूको मूल्यवृद्धि ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २२ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि खानी खोला हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ वटा उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड र ‘अन्य’ उपसमूहमा सामान्य वृद्धि देखिए पनि बाँकी सबै उपसमूहमा सामान्य गिरावट आएको नेप्सेले जनाएको छ।