

विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पूँजी संरचना परिवर्तन गर्नुका साथै लगानीका क्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए। उनले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताए। संशोधनमार्फत कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था अद्यावधिक गर्न खोजिएको उनको भनाइ थियो।
मन्त्री वाग्लेका अनुसार कोषको लगानी पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि विस्तार गर्ने उद्देश्य राखिएको छ। मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए।
विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने प्रस्ताव पनि गरिएको छ। संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र समयानुकूल बनाउने लक्ष्य राखिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
विधेयकका प्रमुख विशेषताबारे जानकारी दिँदै उनले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको बताए। यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ। मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, कोषको पूँजी संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ। हाल आठ अर्ब रुपैयाँ रहेको कोषको पूँजी १० अर्ब रुपैयाँ पुर्याउने, शेयर कित्ता आठ करोडबाट बढाएर १० करोड पुर्याउने तथा चुक्ता पूँजी तीन अर्बबाट बढाएर छ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताए।
बदलिँदो आर्थिक आवश्यकता र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न नागरिक लगानी कोषसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको उनले स्पष्ट पारे।