प्रधानमन्त्रीसँग मेरो पूर्ण समन्वय छ, हल्ला नपत्याउन आग्रह: अर्थमन्त्री वाग्ले

प्रधानमन्त्रीसँग मेरो पूर्ण समन्वय छ, हल्ला नपत्याउन आग्रह: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक एजेन्डामा निरन्तर र घनिष्ठ समन्वय भइरहेको स्पष्ट पार्दै आफू र प्रधानमन्त्रीबीच दूरी रहेको भन्ने चर्चा निराधार भएको बताएका छन्। केही समययता निजी क्षेत्रसँग प्रधानमन्त्री शाहले गरेका छलफलमा अर्थमन्त्री वाग्ले सहभागी नभएको विषयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला उनले मंगलबार अर्थ मन्त्रालयमा उद्यमी–व्यवसायीसँगको छलफलका क्रममा त्यसबारे स्पष्टीकरण दिएका हुन्।

वाग्लेले प्रत्येक मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीसँग आर्थिक विषयमा विस्तृत छलफल हुने बताउँदै बजारमा फैलाइएका अफवाह र झुटा चर्चाको पछि नलाग्न आग्रह गरे। उनले भने, “हाम्रो बीच निरन्तर संवाद भइरहेको हुन्छ। प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग बसेर आर्थिक एजेन्डामाथि छलफल गर्छु। बजारमा अनेक अफवाह फैलाइएका छन्, तर ती पत्याउन आवश्यक छैन। आर्थिक विषयमा प्रधानमन्त्रीको तहबाट यति गहिरो चासो र समन्वय धेरै वर्षपछि देखिएको छ।”

अर्थमन्त्री वाग्लेले मुलुकको साझा प्राथमिकता लगानी प्रवर्द्धन रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाह स्वयं निजी क्षेत्रसँग प्रत्यक्ष संवादमा सक्रिय रहेको बताए। व्यवसायीहरूले उठाएका विषयमा प्रधानमन्त्रीले आफू र सम्बन्धित मन्त्रीहरूसँग तत्काल समन्वय र फलोअप गर्ने गरेको उनको भनाइ छ।

उनले निजी क्षेत्रसँग प्रधानमन्त्रीको प्रत्यक्ष संवादलाई प्राथमिकता दिइएको बताउँदै, आफू सार्वजनिक छलफलमा कम देखिनुको अर्थ असमझदारी नभई व्यवसायी र प्रधानमन्त्रीबीच ‘नो फिल्टर’ संवाद गराउने रणनीति भएको स्पष्ट पारे।वाग्लेले आर्थिक सुधार र लगानी प्रवर्द्धनका विषयमा सरकारभित्र पूर्ण सहकार्य रहेको दोहोर्‍याउँदै बजारमा फैलाइएका हल्ला र भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरे।