आज दोस्रो राष्ट्रिय कोदो दिवस : खाद्य सुरक्षा र किसानको आय बढाउन कोदो प्रवर्द्धनमा जोड

आज दोस्रो राष्ट्रिय कोदो दिवस : खाद्य सुरक्षा र किसानको आय बढाउन कोदो प्रवर्द्धनमा जोड

काठमाडौं । नेपालमा आज (साउन १६ गते) विभिन्न कार्यक्रम आयोजना गरी दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। कोदोजन्य बालीको उत्पादन, उत्पादकत्व र उपभोग बढाउँदै आयात प्रतिस्थापन, खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले गत वर्षदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो।

यस वर्षको दिवसको नारा ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ तय गरिएको छ। कोदोले साना किसानको आयआर्जन वृद्धि गर्नुका साथै पोषणयुक्त खाद्यान्नको उपलब्धता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

दिवसका अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले शुभकामना सन्देश जारी गर्दै कोदो तथा अन्य कोदोजन्य बालीको संरक्षण, उत्पादन र उपभोग विस्तारका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएकी छन्।

उनले कोदो जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण तथा दिगो कृषि प्रणाली विकासका लागि महत्वपूर्ण बाली भएको उल्लेख गरिन्।

मन्त्री चौधरीका अनुसार नेपालमा परम्परादेखि कोदो खेती र उपभोग हुँदै आए पनि पछिल्ला वर्षमा विभिन्न कारणले यसको उत्पादन र उपभोगमा कमी आएको थियो। तर, यसको पोषण तथा स्वास्थ्य लाभबारे जनचेतना बढ्दै जाँदा पछिल्लो समय कोदोजन्य खाद्य पदार्थको माग पुनः बढ्न थालेको छ।

उनले सरकारले उत्पादन वृद्धि, उत्पादकत्व अभिवृद्धि तथा व्यवसायीकरणका लागि विभिन्न नीतिगत र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै कोदोले खाद्य सुरक्षा, पोषण सुधार, आयात प्रतिस्थापन र किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सरकारको अपेक्षा अनुसार राष्ट्रिय कोदो दिवसले कोदोजन्य बालीको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यसको उत्पादन, उपभोग र व्यवसायीकरणलाई थप गति दिने विश्वास गरिएको छ।