

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउनको अन्तिम साता काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी दिए।
उनका अनुसार मुलुकको वर्तमान राजनीतिक अस्थिरता तथा पार्टीभित्र देखिएका आन्तरिक चुनौतीबारे व्यापक छलफल गर्दै कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा थप सुदृढ बनाउने उद्देश्यले भेला आयोजना गरिएको हो।
डा. कोइरालाले ५५१ सदस्यीय आयोजक समितिको संयोजनमा हुने भेलामा देशभरका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताए। भेलामा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण, नेतृत्व विकास र समसामयिक राजनीतिक विषयमा व्यापक छलफल गरिने जनाइएको छ।
संस्थापन इतर समूहले राष्ट्रिय भेलामार्फत पार्टीभित्र वैचारिक बहसलाई सशक्त बनाउने, संगठनलाई नयाँ ऊर्जा प्रदान गर्ने तथा आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरेको छ।