पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः आज पनि वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

आज दिउँसो देशका हिमाली भूभागका थोरै स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यसअघि बिहीबार सूचना जारी गर्दै महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना बढेको जनाएको थियो।

काठमाडौं उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकामा समेत छिटपुट वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। मौसमविद् महर्जनका अनुसार दिउँसो वा साँझपख उपत्यकाका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

उनले उपत्यकामा आज वर्षा हुने सम्भावना ३० प्रतिशत रहेको जानकारी दिएकी छन्।

मनसुन सकियो, चिसो बढ्दै

नेपालबाट मनसुन असोज २८ गते पूर्ण रूपमा बाहिरिएसँगै वर्षायाम औपचारिक रूपमा अन्त्य भएको छ। अहिले देशमा मनसुनी वायुको प्रभाव नरहे पनि पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। अहिले पोस्ट–मनसुन अर्थात् मनसुनपछिको मौसम सुरु भएको छ।

मौसमविद्का अनुसार पोस्ट–मनसुन अक्टोबर र नोभेम्बर गरी दुई महिना रहन्छ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदको मौसम हुन्छ। हिउँद सकिएपछि मार्चदेखि मेसम्म तीन महिना प्रि–मनसुन अर्थात् मनसुनपूर्वको मौसम रहन्छ।

प्रि–मनसुनको अवधि मनसुन सुरु भएपछि समाप्त हुन्छ। यसरी नेपालको मौसमलाई प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र हिउँद गरी चार भागमा वर्गीकरण गरिएको छ।

मौसममा आएको परिवर्तनसँगै तापक्रम घट्ने र चिसो बढ्ने क्रमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।