

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रहरीलाई आगामी दिनमा आइपर्न सक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जनताको सेवामा सधैँ अग्रपङ्क्तिमा खटिने प्रहरी सङ्गठनलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
उनले प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको पनि जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले कर्तव्यपालनाका क्रममा हालै भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने तथा सङ्गठनका सम्झनालाई ताजा राख्ने अपेक्षा व्यक्त गरेका छन्।
पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। यसका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था भइरहेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार, ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा नेपाल प्रहरीलाई सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारप्रति धन्यवाद व्यक्त गरेका छन्।
‘नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकको असली परीक्षा सङ्कटका बेला हुन्छ। सङ्कटको घडीमा हाम्रो धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै सङ्कट टार्न मद्दत गर्दछ,’ प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ।
कार्यक्रममा प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए।