

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन नहुने भन्दै गरिएको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ।
शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्यकर्म भएकाले शुक्र वा बृहस्पति अस्त भएका बेला पनि दसैँ मनाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
शुक्र र बृहस्पति अस्त भएका बेला नित्य तथा नैमित्तिक कर्म गर्न शास्त्रीय वचनले कुनै बन्देज नलगाएको समितिले जनाएको छ। त्यसैले सामाजिक सञ्जालमा फैलिएका भ्रामक प्रचारका पछि नलाग्न समितिले सर्वसाधारणलाई आग्रह गरेको छ।
समितिका अनुसार शुक्र र बृहस्पति अस्त भएका बेला कुनै विशेष कामना राखेर गरिने कर्म गर्न मात्र निषेध गरिएको शास्त्रीय मान्यता छ। सामाजिक सञ्जालमा आएका हल्लाका आधारमा धारणा बनाउनुअघि धर्मशास्त्रका जानकार तथा समितिका पदाधिकारीसँग सरसल्लाह र परामर्श गर्न पनि समितिले अनुरोध गरेको छ।
समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार यही असोज २८ गते बुधबार दिउँसो १ः४० बजे पश्चिम दिशामा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ः४९ बजे उदय हुनेछन्।