

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले आफ्नो नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ। टोलीले नयाँ जर्सीमार्फत आफ्नो च्याम्पियन विरासतसँगै लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई उजागर गरेको जनाएको छ।
नयाँ जर्सीको मुख्य अवधारणा ‘हाम्रो राज, हाम्रो नेतृत्व’ रहेको छ। लुम्बिनी लायन्सका अनुसार ‘राज’ ले लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ। यसले टोली मैदानमा प्रतिस्पर्धा गर्न मात्र नभई आफ्नै पहिचानसहित नेतृत्व गर्न प्रतिबद्ध रहेको सन्देश दिन्छ।
जर्सीमा समावेश गरिएको सिंहको केशलाई लुम्बिनी लायन्सको पहिचानको महत्त्वपूर्ण प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। गर्जनसँगै फहराउने सिंहको केशले टोलीको जोश, शक्ति, आक्रामकता र गौरवलाई अभिव्यक्त गर्ने अवधारणा राखिएको छ। सिंहको शाही आत्मविश्वासमार्फत टोलीको प्रतिस्पर्धात्मक भावना र मैदानमा प्रभुत्व जमाउने लक्ष्यसमेत झल्काइएको छ।
जर्सीको अर्को महत्त्वपूर्ण विशेषता मण्डला हो। प्राचीन सभ्यता, शान्ति र आध्यात्मिक विरासतको प्रतीकका रूपमा रहेको मण्डलाले लुम्बिनीको सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ। यसको निरन्तर घेराले पहिचान, एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको गौरवलाई संकेत गर्छ। एनपीएलको तेस्रो संस्करणमा आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रन लागेको लुम्बिनी लायन्सले पहिलो खेल सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्नेछ।