पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित, १७० घर पूर्ण क्षति

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित, १७० घर पूर्ण क्षति

पर्वत । बाढीपहिरोका कारण पर्वतमा ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार पर्वतका सात स्थानीय तहमध्ये छवटा पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोले क्षति पुर्‍याएको हो। सबैभन्दा बढी क्षति जलजला गाउँपालिकामा भएको छ। त्यहाँ ११३ घरमा क्षति पुगेको छ भने ५८ घर पहिरोको उच्च जोखिममा छन्। जलजलाका १७१ परिवार विस्थापित भएका छन्।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर १३१ घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए।

बाढीपहिरोका कारण पाँच विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था तथा प्रहरी चौकीमा समेत क्षति पुगेको छ। पर्वत-बागलुङ जोड्ने झोलुङ्गे पुल र मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गास्थित पुलमा पनि क्षति पुगेको प्रशासनले जनाएको छ।

जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन्। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास-बिहादी तथा लुङ्खुदेउराली-हुवास सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।

बाढीपहिरोबाट विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, ओढ्ने-ओछ्याउने सामग्री, सरसफाइका सामग्री तथा स्वास्थ्य उपचारका सामग्री उपलब्ध गराइरहेका छन्।