

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले विभिन्न बस्तीका घर तथा टहरामा क्षति पुर्याउनुका साथै दर्जनौँ घर जोखिममा पारेको छ।
गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको हो। बाढीले चुमनुब्री गाउँपालिका-३ मा रहेको न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका-५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीका कारण धार्चे गाउँपालिका-३ स्थित सल्लेरीका २० देखि २२ वटासम्म घर जोखिममा परेका छन्। यसैगरी, आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ। पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित भएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। यद्यपि, मानवीय क्षतिबारे भने हालसम्म विवरण सार्वजनिक गरिएको छैन। नदीमा पानीको बहाव र थप बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आवश्यक देखिएको छ।