

काठमाडौं । दसैँको फूलपाती नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट घर फर्किने सर्वसाधारणको संख्या बढ्न थालेको छ। दसैँ मनाउन आफ्नो जन्मथलो जाने यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख नाकामा भीड बढेको छ भने विभिन्न राजमार्गमा सवारीसाधनको चापसमेत बढ्न थालेको छ।
काठमाडौंको कलंकी, कोटेश्वर, बल्खुलगायतका स्थानमा घर फर्किने यात्रुको भीड देखिन थालेको छ। सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या बढेसँगै उपत्यकाबाट बाहिरिने नाकामा चहलपहल बढेको हो।
उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि बिहीबारसम्म साढे दुई लाखभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।
दसैँको समयमा यात्रालाई सुरक्षित र सहज बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ। ट्राफिक नियमको पालना गराउने, चालकका कागजात जाँच गर्ने तथा सवारीसाधनको अवस्था परीक्षण गर्ने कामलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले यात्राको क्रममा सम्भावित दुर्घटना न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउन नियमित जाँच तथा निगरानी भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार यस वर्ष दसैँ मनाउन करिब १० लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न, सवारीसाधनको अवस्था जाँच गर्न र सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।