चक्रवात ‘अर्नब’को प्रभाव : आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव : आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ । पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवातको असरका कारण आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना पनि छ ।

त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षासँगै हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने तथा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरिएको छ । ती क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन पनि महाशाखाले आग्रह गरेको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको छ ।