आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। उक्त रेखा नेपालको नजिक नरहेको महाशाखाले जनाएको छ।देशभर मनसुनी वायु र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

महाशाखाले सोमबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार हाल देशका हिमाली क्षेत्रमा आंशिक बदली तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहेको छ।

आज दिउँसो

देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति

राति देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मौसममा आएको परिवर्तनका कारण यात्रा तथा दैनिक गतिविधि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।