

काठमाडौं । बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करण ‘डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ मा देश तथा विदेशबाट एक हजार २२९ कथाकार सहभागी भएका छन् । प्रतियोगिताको पहिलो चरणबाट उत्कृष्ट ५० कथा छनोट गरिएको छ ।
बाह्रखरी मिडियाले गत भदौ ४ गते नेपाली भाषामा कथा लेख्ने विश्वभरका कथाकारलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो । असोज ३ गते मध्यरातसम्म कथा पठाउने समयसीमा तोकिएकोमा नेपालसहित भारतका दिल्ली, असम, दार्जिलिङ, मुम्बई, सिक्किम, डुवर्स र मेघालयलगायत स्थानबाट कथा प्राप्त भएका थिए ।
त्यसैगरी चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया र इन्डोनेसियामा रहेका नेपाली कथाकारले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्राप्त एक हजार २२९ कथामध्ये निर्धारित मापदण्ड पूरा गरेका कथाबाट आन्तरिक निर्णायक समूहले उत्कृष्ट ५० कथा छनोट गरेको हो । समूहका संयोजक गोविन्द अधिकारीसहित चार सदस्यीय टोलीले पहिलो चरणको मूल्यांकन गरेको थियो ।
छनोटमा परेका कथाकारमा अनुप तमु, बद्री अधिकारी, सुयोग ढुंगेल, रामकृपाल महतो, वसन्त बायुङ राई, डा. सुरेन्द्र गैरे, संस्कार चापागाईं, सपना अधिकारी, गरिमा आचार्य, अमित घिमिरे, चेवन शर्मा, दीक्षित केसी, अनिता कोइराला, सुधन सुवेदी, कुशल गौतम, मधुर भट्टराई, ममता राई, प्रकाश राई, डा. सायुज्यराज घिमिरे र निर्मल ढुंगाना छन् ।
त्यस्तै, प्रकाश घिमिरे, ममता कुमारी गुप्ता, कान्ति न्यौपाने, सरस्वती सरस, मसान उपासक, अपेक्षा कार्की, डी.के. विरही, प्रवीण याम्फु, सुमन भण्डारी, सुरज महतो, अजित आचार्य, कृषा दाहाल, पारसप्रकाश नेपाल, ईश्वरी मरहट्टा, वसन्ती श्रेष्ठ, श्रेयज सुवेदी, रजनी ढुंगाना, उमेश अविरल, चेतनाथ आचार्य, दीपेन्द्र विष्ट, राकेशकुमार वर्णवाल, आशिष श्रेष्ठ, रबर्ट जोशी, खेमराज सापकोटा, राजेन्द्र तारकिणी, युवराज भट्टराई, छ्योतिन शेर्पा, दिपेश राई, खुपेन सुनुवार र नन्दबहादुर रोकाया पनि उत्कृष्ट ५० मा परेका छन् ।
पहिलो चरणबाट छनोट भएका ५० कथामध्ये अग्रज कथाकार भुवन ढुंगानाको संयोजकत्वमा साहित्यकार डा. ज्ञानु अधिकारी तथा लेखक एवं चलचित्रकर्मी खगेन्द्र लामिछाने सम्मिलित मूल निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ ।
प्रतियोगितामा प्रथम हुने कथाकारले दुई लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख र ६० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट २५ भित्र पर्ने अन्य २२ कथाकारलाई जनही सात हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा छनोट भएका उत्कृष्ट कथाहरूको संग्रह अघिल्ला वर्षझैँ फाइनप्रिन्टले प्रकाशन गर्नेछ ।
बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगिताको आठौँ संस्करणको टाइटल स्पोन्सर डिगो एप रहेको छ भने सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथाले साथ दिएको छ । प्रतियोगितालाई एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड अजोड इन्स्योरेन्स, यति एयरलाइन्स, वेदालय र करुणा फाउन्डेसन नेपालले पनि सहयोग गरेका छन् ।
आन्तरिक मूल्यांकन समितिका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा सहभागी सबै कथाकार तथा प्रायोजक र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् ।