कांग्रेस केन्द्रीय सदस्यमा कर्णालीबाट राजीवविक्रम शाह निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा कर्णालीबाट राजीवविक्रम शाह निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा कर्णाली भूगोल क्लस्टरबाट जाजरकोटका राजीवविक्रम शाह निर्वाचित भएका छन्। कर्णाली प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित शाहले अब पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन्।

कर्णाली प्रदेशबाट सहमहामन्त्रीसहित १० जना निर्वाचित भएका छन्। केही पद तथा क्लस्टरको मतपरिणाम आउन बाँकी रहेकाले कर्णालीबाट निर्वाचित हुने प्रतिनिधिको अन्तिम सूची भने सार्वजनिक हुन बाँकी छ।

महाधिवेशनमा सहभागी कांग्रेस हुम्लाका नेता राजबहादुर रोकायाका अनुसार हालसम्म जीवनबहादुर शाही पिछडिएको क्षेत्रको कोटाबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। त्यस्तै, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भूगोल, जनजाति, पिछडिएको क्षेत्र, युवा तथा दलित क्लस्टरअन्तर्गतका उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

भूगोल क्लस्टरबाट चार जना निर्वाचित

केन्द्रीय सदस्यमा कर्णाली भूगोल क्लस्टरबाट जाजरकोटका राजीवविक्रम शाह, मुगुका खड्गबहादुर शाही, दैलेखका दिक्पाल शाही र जुम्लाकी रमादेवी खड्का निर्वाचित भएका छन्। त्यसैगरी, जनजाति क्लस्टरबाट दैलेखकी सीताकुमारी राना निर्वाचित भएकी छन्। पिछडिएको क्षेत्रको क्लस्टरबाट कालीकोटकी सुशीला बम र जाजरकोटका दीपकजंग शाह निर्वाचित भएका छन्।

युवा र दलित क्लस्टरमा पनि कर्णालीको प्रतिनिधित्व

खुला युवा समूह (३५ वर्षमुनि) बाट सुर्खेतका इन्जिनियर रोशन बस्नेत निर्वाचित भएका छन्। कर्णाली प्रदेशको ३५ वर्षमुनि महिला समूहबाट सुर्खेतकै भगवती शाही निर्वाचित भएकी छन्। दलित पुरुष क्लस्टरबाट दैलेखका दीपक सोनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

हालसम्म निर्वाचित १० जनामा एक सहमहामन्त्री र नौ केन्द्रीय सदस्य रहेका छन्। बाँकी पद तथा क्लस्टरको मतपरिणाम सार्वजनिक भएपछि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यको अन्तिम विवरण स्पष्ट हुनेछ।