

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि शनिबारसम्म सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। कात्तिक १२ देखि १४ गतेसम्म हावाहुरी, चट्याङ, हिमआँधी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो।
प्राधिकरणले बिहीबार दिउँसो जारी गरेको जरुरी सूचनामार्फत देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेको छ। “यही कात्तिक १२, १३, १४ गते हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ,” सूचनामा भनिएको छ।
पदयात्रा वा ट्रेकिङमा गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न पनि प्राधिकरणले सुझाव दिएको छ। प्रतिकूल मौसमका कारण जोखिम बढ्न सक्ने भएकाले यात्राको योजना बनाउँदा विशेष सावधानी अपनाउनुपर्ने प्राधिकरणको आग्रह छ। यसैगरी, सम्भावित वर्षा र प्रतिकूल मौसमलाई ध्यानमा राख्दै प्राधिकरणले तीन दिनसम्म धान नकाट्नसमेत अनुरोध गरेको छ।