चक्रवात ‘अर्नब’को प्रभाव : बिहीबार साँझदेखि वर्षाको जोखिम, सतर्क रहन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव : बिहीबार साँझदेखि वर्षाको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ। तर, यसको प्रभावसँगै नेपालमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने मौसमविद्ले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात नेपालसम्म आइपुग्दा समुद्री चक्रवातकै तीव्रतामा रहने छैन। यद्यपि, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीबीच हुने अन्तरक्रियाले वर्षा बढाउन सक्ने सम्भावना छ।

“अहिलेको पूर्वानुमानअनुसार लुम्बिनी र गण्डकीदेखि कोसीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,” पोखरेलले भने, “विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सचेत रहनुपर्ने देखिन्छ।”

उनका अनुसार वर्षा हुने स्थान, समय र मात्राबारेको पूर्वानुमानमा परिवर्तन हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा ध्यान दिन आवश्यक छ।

यसैबीच, चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानले चक्रवातको प्रभाव शुक्रबारदेखि नेपालमा पर्न सक्ने देखाएको छ। यसको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत पर्न सक्ने अनुमान छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने प्राधिकरणले जनाएको छ।

यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह

सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न अनुरोध गरेको छ। त्यस्तै, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ।