

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरका बासिन्दासरह राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधा पाउनुपर्ने बताएका छन्। अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा तथा सुविधाको असमान वितरणले ग्रामीण क्षेत्रका नागरिक प्रभावित भएको बताए।
‘राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छन् । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ,’ उनले भने।
समयअनुसार आवश्यक सेवा तथा सुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके नागरिक जुनसुकै ठाउँमा पनि सहज रूपमा बसोबास गर्न सक्ने उनको भनाइ थियो। सांसद साम्पाङले नदी तर्न तुइनको जोखिम मोल्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
उनको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण गर्ने विषयसँग जोडिएको बताइएको छ। उक्त स्थानमा स्थानीयवासी जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साम्पाङले पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यहाँ झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको बताइएको छ। यद्यपि, निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयवासीले तुइन प्रयोग गर्नुपर्ने बाध्यताबाट कहिले मुक्ति पाउँछन् भन्ने विषय अझै चासोको केन्द्रमा छ।
दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा अन्य आधारभूत सेवासुविधाको अभावका कारण स्थानीय नागरिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका छन्। दुर्गम क्षेत्रका बासिन्दालाई सहज र सुरक्षित आवागमनसहित आधारभूत सेवा उपलब्ध गराउन पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।