बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, ३४१ मेगावाटको आयोजना बढी प्रभावित

बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, ३४१ मेगावाटको आयोजना बढी प्रभावित

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल जोड्ने पुलमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ भने केही निर्माण उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।

त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिजसमेत बगाएको छ।

यसैगरी, ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ। यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाका निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ।

१६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ। यसले निर्माण कार्यसँगै आयोजनास्थलसम्मको आवागमनमा समेत असर पार्न सक्ने देखिएको छ।

बूढीगण्डकी नदीमा आएको बाढीबाट चारवटै आयोजनामा भएको क्षतिको विवरण प्रारम्भिक रहेको छ। कुल आर्थिक क्षति, निर्माण कार्यमा परेको प्रभाव तथा पुनर्निर्माणका लागि लाग्ने समयबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।