

काठमाडौं । रणवीर कपुरको मुख्य भूमिका रहेको बहुप्रतीक्षित भारतीय पौराणिक चलचित्र ‘रामायण’ विश्वभर ४० भाषामा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले चलचित्रलाई विश्वका विभिन्न भाषाका दर्शकमाझ पुर्याउने उद्देश्यसहित व्यापक तयारी गरिरहेको जनाएको छ।
मिडिया रिपोर्टका अनुसार ‘रामायण’ लाई विश्वभरका दर्शकले सहज रूपमा हेर्न सकून् भन्ने उद्देश्यले करिब ४० भाषामा डब गरिएको छ। यससँगै विभिन्न देशका दर्शकले आफ्नै भाषामा चलचित्र हेर्न पाउने अपेक्षा गरिएको छ। चलचित्र कुन-कुन भाषामा डब गरिएको हो भन्ने पूर्ण सूची भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।
निर्माता नमित मल्होत्रा र चलचित्रको मुख्य टोलीले ‘रामायण’ लाई भारतीय चलचित्रकै इतिहासमा सबैभन्दा ठूलो विश्वव्यापी प्रदर्शनमध्ये एक बनाउने लक्ष्य राखेका छन्। यसका लागि निर्माण टोलीले लामो समयदेखि तयारी गरिरहेको बताइएको छ।
विश्वव्यापी दर्शकमाझ चलचित्रको पहुँच विस्तार गर्ने योजनाअन्तर्गत निर्माण पक्षले यसअघि अमेरिकामा आयोजित सिनेमा उद्योगसम्बन्धी कार्यक्रम ‘सिनेमाकन २०२६’ र ‘सान डिएगो कमिक–कन’ मा पनि प्रचार गरेको थियो। चलचित्रमा रणवीर कपुर भगवान् रामको भूमिकामा छन् भने साई पल्लवी सीताको भूमिकामा देखिनेछिन्। त्यस्तै, यशले रावण र सनी देओलले हनुमानको भूमिका निर्वाह गरेका छन्।
नितेश तिवारीको निर्देशनमा बनेको यो पौराणिक चलचित्र दुई भागमा तयार पारिएको छ। पहिलो भाग आगामी नोभेम्बर ५ अर्थात् तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी छ। दोस्रो भाग सन् २०२७ को तिहारमा चलचित्रघरमा प्रदर्शन गरिने जनाइएको छ।