कांग्रेस महाधिवेशनको मतगणना तीव्र, सानेपामा २३ स्थानमा एकसाथ गणना

कांग्रेस महाधिवेशनको मतगणना तीव्र, सानेपामा २३ स्थानमा एकसाथ गणना

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना तीव्र पारिएको छ। मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा एकैपटक २३ स्थानमा मतगणना भइरहेको छ।

सभापतिसहित प्रमुख पदाधिकारीका अधिकांश पदको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री तथा विभिन्न समावेशी समूहअन्तर्गतका केन्द्रीय सदस्य पदको मतगणनालाई तीव्रता दिएको हो।

धेरै पद र उम्मेदवारका मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले पद तथा समावेशी समूहअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना अघि बढाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

उनका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ। प्रवासस्थित नेपाली जनसम्पर्क समितिअन्तर्गतका पदको मतगणनाका लागि सबैभन्दा धेरै नौ स्थानमा टोली परिचालन गरिएको छ।

त्यसैगरी, आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्य पदको मतगणना तीन स्थानमा भइरहेको छ।

सुदूरपश्चिम प्रदेशतर्फका खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना दुई स्थानमा भइरहेको निर्वाचन समितिले जनाएको छ।

एकैपटक २३ स्थानमा मतगणना सुरु गरिएसँगै नतिजा सार्वजनिक हुने क्रमले तीव्रता पाएको छ। उम्मेदवार तथा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षा व्यवस्थाबीच मतगणना भइरहेको छ।

निर्वाचन समितिले बाँकी सबै पदको अन्तिम परिणाम छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म मतगणना सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतदाताको सङ्ख्या दोब्बरभन्दा बढी, करिब सात हजार पुगेकाले मतगणनामा समय लाग्नु स्वाभाविक भएको कटुवालले बताए। अघिल्लो महाधिवेशनमा झन्डै तीन हजार मतदाता हुँदा मतगणना सम्पन्न गर्न १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक भने त्यति लामो समय नलाग्ने दाबी गरे।