

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता, स्वाधीनता तथा स्वतन्त्रता कमजोर पारिएको दाबी गर्दै त्यसको पुनःप्राप्तिका लागि आन्दोलन अनिवार्य रहेको बताएका छन्।
पार्टीको केन्द्रीय कमिटीमा नवमनोनित सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति निर्माण भइरहेको बताए।
‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ। राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ ओलीले भने, ‘यस्तो स्थितिमा हामीले यी चिजहरूको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो। बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ।’
उनले विगतमा पनि यस्ता परिस्थितिको प्रतिवाद गरेको स्मरण गर्दै फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताए।
आन्दोलनको अर्थ लुटपाट र आगजनी नभएको स्पष्ट पार्दै ओलीले असंगठित तथा निःशस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनको प्रतिवाद नै आन्दोलन भएको व्याख्या गरे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी र षड्यन्त्र भइरहेको आरोपसमेत लगाए। उनका अनुसार २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको थियो। २०७८ सालमा पार्टी विभाजन गराउने र २०७९ को निर्वाचनमा एमालेविरुद्ध व्यापक मोर्चाबन्दी गरिएको उनको दाबी छ।
‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, यो एकदमै चालु छ। सामाजिक सञ्जालमार्फत हाम्रो चरित्रहत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको छ,’ ओलीले भने।
गत निर्वाचनमा विरोधीका सबै षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उनले आगामी दिनमा त्यस्ता प्रयासलाई सफल हुन नदिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
समाजवादी आन्दोलन समाप्त पार्ने उद्देश्यले अघि बढ्नेहरूलाई ‘मूर्ख’ को संज्ञा दिँदै ओलीले कम्युनिष्ट आन्दोलन सत्य, न्याय र मानवतावादमा आधारित आन्दोलन भएको दाबी गरे।
नवमनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै उनले विगतको इतिहास र योगदानको भरमा मात्र अब पार्टीमा टिक्न नसकिने चेतावनीसमेत दिए। पार्टीलाई बलियो बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।