बूढीगण्डकीको बाढीले ६ पुल र ३५ घर बगायो, कम्तीमा १० जना सम्पर्कविहीन

बूढीगण्डकीको बाढीले ६ पुल र ३५ घर बगायो, कम्तीमा १० जना सम्पर्कविहीन

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले ६ वटा पुल र चुमनुब्री गाउँपालिकाका करिब ३५ घर बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ। बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको उहाँले जानकारी दिनुभयो। त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।

यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।