तनहुँमा ४५ महिलाको सामूहिक फूलखेती, ४५ रोपनीमा सयपत्री फुल्यो

तनहुँमा ४५ महिलाको सामूहिक फूलखेती, ४५ रोपनीमा सयपत्री फुल्यो

दमौली । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन्। तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। सामूहिक रूपमा फूलखेती गर्दै आएका ४५ महिलाका लागि यो उद्यम आयआर्जन र आर्थिक आत्मनिर्भरताको आधार बनेको छ।

दसैँ नजिकिएसँगै स्थानीय महिला सयपत्री फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि उनीहरूमा उत्साह थपिएको छ। स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ।

महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काम सुरु गरिएको हो। पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावना राम्रो रहेको पुष्टि गरेको उनले बताइन्।

“दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ,” गुरुङले भनिन्।

महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्‍याएको उनको भनाइ छ। सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्न सकिने उनले बताइन्।

गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानी थप वृद्धि गर्न सकिन्छ। स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यतासमेत हटेको छ। यहाँ उत्पादित फूल प्रतिकिलो ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिइन्।

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ। महिलाको सहभागितामा विस्तार भइरहेको यस खेतीले उनीहरूलाई उत्पादनमूलक काममा जोड्नुका साथै आयआर्जनको अवसर सिर्जना गरेको उनले बताए।

“फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको छ। यहाँ उत्पादित फूलको बजारमा समस्या छैन,” केसीले भने।

स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएकाले खेतीलाई थप व्यवस्थित बनाउन सकिने उनको भनाइ छ। महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर पनि विस्तार हुँदै गएको उनले बताए।