अब सानो रकमबाटै वास्तविक चाँदी किन्न सकिने, एचबीसीले ल्यायो मोबाइल एप

अब सानो रकमबाटै वास्तविक चाँदी किन्न सकिने, एचबीसीले ल्यायो मोबाइल एप

काठमाडौं । अब सानो–सानो रकम भुक्तानी गर्दै वास्तविक चाँदी खरिद गर्न सकिने भएको छ। चाँदी प्रशोधन तथा कारोबारमा संलग्न हिमालयन बुलियन कम्पनी लिमिटेड (एचबीसी) ले ग्राहकलाई सहज रूपमा चाँदीको स्वामित्व लिन सक्ने सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ मोबाइल एप ‘एचबीसी एप’ सार्वजनिक गरेको छ।

सन् २००० मा स्थापना भएको कम्पनीले सोमबार (अक्टोबर १२) सार्वजनिक गरेको एप एन्ड्रोइड र आइओएस दुवै प्रणालीमा उपलब्ध छ। एपमार्फत ग्राहकले आफ्नो सुविधाअनुसार रकम र समयमा चरणबद्ध भुक्तानी गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। सम्पूर्ण रकम भुक्तानी भएपछि खरिद गरिएको चाँदी ग्राहककै स्वामित्वमा रहने कम्पनीले जनाएको छ।

परम्परागत रूपमा चाँदी खरिद गर्न एकैपटक ठूलो रकम आवश्यक पर्ने अवस्थालाई सहज बनाउन एप ल्याइएको कम्पनीको भनाइ छ। ग्राहकले आफ्नो आर्थिक क्षमताअनुसार खरिद लक्ष्य निर्धारण गरी क्रमशः भुक्तानी गर्न सक्नेछन्।

एप सार्वजनिक गर्ने अवसरमा कम्पनीले ग्राहकका लागि दुई विशेष योजनासमेत घोषणा गरेको छ। कम्पनीका अनुसार सालिको इन्स्योरेन्स र एचबीसीबीचको सहकार्यमा ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइनेछ। यस्तै, तिहारसम्म सञ्चालन हुने विशेष भाग्यचिठ्ठा योजनामार्फत एक भाग्यशाली ग्राहकले टेस्ला मोडल थ्री विद्युतीय कार जित्ने अवसर पाउनेछन्।

कसरी खरिद गर्न सकिन्छ चाँदी?

एचबीसी एप प्रयोग गर्न ग्राहकले सुरुमा खाता खोलेर आवश्यक ग्राहक पहिचान प्रक्रिया (केवाईसी) पूरा गर्नुपर्नेछ। त्यसपछि एपमार्फत दैनिक चाँदीको खरिद मूल्य र कम्पनीले पुनः खरिद गर्दा उपलब्ध गराउने मूल्य हेर्न सकिनेछ।

ग्राहकले १०, २०, ५० वा १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिदका लागि लक्ष्य निर्धारण गर्न सक्नेछन्। एकैपटक बढीमा तीनवटा खरिद लक्ष्य सक्रिय राख्न सकिने कम्पनीले जनाएको छ।

भुक्तानीका लागि ग्राहकले एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको पाँच प्रतिशत वा सम्पूर्ण रकम एकैपटक तिर्न सक्नेछन्। भुक्तानीको रकम र समय ग्राहकले आफ्नो सुविधाअनुसार निर्धारण गर्न पाउनेछन्।

सम्पूर्ण रकम भुक्तानी नहुँदासम्म खरिदका लागि छुट्याइएको चाँदी कम्पनीको भल्टमा सुरक्षित राखिनेछ। एप सार्वजनिक भएको विशेष अवसरमा भल्ट शुल्क निःशुल्क गरिएको कम्पनीले जनाएको छ। ग्राहकले भण्डारणमा रहेको चाँदी एपमार्फत पुनः बिक्री गर्ने सुविधा पनि पाउनेछन्।

सम्पूर्ण भुक्तानी पूरा भएपछि ग्राहकले आइतबारका लागि चाँदी संकलन गर्ने समय बुक गर्न सक्नेछन्। चाँदी प्राप्त गरेपछि त्यसको विवरण एपको ‘योर भल्ट’ खण्डमा देखिनेछ, जहाँबाट वर्तमान मूल्यसमेत हेर्न सकिनेछ। चाँदी संकलन गरेको तीन दिनपछि कम्पनीले प्रकाशित गरेको प्रचलित पुनः खरिद दरमा बिक्री गर्न सकिने कम्पनीको भनाइ छ।

१० लाख रुपैयाँसम्मको दुर्घटना बीमा

ग्राहकलाई चाँदी खरिदको सुविधासँगै थप सुरक्षा प्रदान गर्ने उद्देश्यले व्यक्तिगत दुर्घटना बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ। यसअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। यद्यपि, बीमा सुविधा सम्बन्धित बीमालेखका सर्त, सीमा र प्रावधानअनुसार लागू हुनेछ।

तिहारमा टेस्ला मोडल थ्री जित्ने अवसर

एचबीसी एपमार्फत तिहारसम्म गरिएका प्रत्येक पूर्ण खरिदलाई भाग्यचिठ्ठाको एक प्रविष्टि मानिनेछ। कुनै चाँदीको उत्पादनको सम्पूर्ण रकम भुक्तानी गरी खरिद पूरा गर्ने ग्राहकले एक प्रविष्टि प्राप्त गर्नेछन्। एकभन्दा बढी खरिद पूरा गर्ने ग्राहकका लागि प्रत्येक खरिदबापत छुट्टाछुट्टै प्रविष्टि रहनेछ।

योजनाको अवधि समाप्त भएपछि योग्य प्रविष्टिमध्येबाट पारदर्शी गोलाप्रथामार्फत एक विजेता छनोट गरी नयाँ टेस्ला मोडल थ्री विद्युतीय कार प्रदान गरिने कम्पनीले जनाएको छ। योजनाको विस्तृत नियम, योग्यता र अन्तिम मितिसम्बन्धी व्यवस्था कम्पनीले सार्वजनिक गर्ने आधिकारिक सर्तअनुसार लागू हुनेछ।

लगानी योजना नभई वास्तविक चाँदी खरिद गर्ने माध्यम

कम्पनीले एचबीसी एपलाई ट्रेडिङ प्लेटफर्म वा निश्चित प्रतिफल दिने लगानी योजनाभन्दा वास्तविक चाँदीका उत्पादन चरणबद्ध भुक्तानीमा खरिद गर्ने डिजिटल माध्यमका रूपमा प्रस्तुत गरेको छ। एपमार्फत खरिद गरिने चाँदी भौतिक उत्पादनमा आधारित हुने र ग्राहकले सम्पूर्ण भुक्तानीपछि आफ्नो चाँदी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

एचबीसी एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताका लागि एप्पल एप स्टोरमा उपलब्ध छ। ग्राहकले एप डाउनलोड गरेर खाता खोल्न, चाँदीको दैनिक मूल्य हेर्न, खरिद लक्ष्य निर्धारण गर्न र भुक्तानी सुरु गर्न सक्नेछन्।

एप डाउनलोड गर्ने लिङ्क:

२६ वर्षदेखि चाँदीको कारोबारमा एचबीसी

सन् २००० मा स्थापना भएको हिमालयन बुलियन कम्पनी लिमिटेड काठमाडौंमा आधारित चाँदी प्रशोधन तथा बिक्री–वितरण गर्ने कम्पनी हो। कम्पनीले विशिष्ट क्रम सङ्ख्या अंकित चाँदीका बार उत्पादन गर्दै आएको जनाएको छ।

बहुमूल्य धातुसम्बन्धी नीतिगत छलफल तथा चाँदीको आयातमा लाग्ने भन्सार महसुल सुधारका विषयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको कम्पनीले २६ वर्षको अनुभवलाई डिजिटल प्रविधिसँग जोडेर चाँदीको स्वामित्वलाई थप सहज र सर्वसुलभ बनाउने लक्ष्य राखेको छ।