रोहितको शतकमा नेपालले क्यानडालाई हरायो, लिग-२ को छैटौँ स्थानमा उक्लियो

रोहितको शतकमा नेपालले क्यानडालाई हरायो, लिग-२ को छैटौँ स्थानमा उक्लियो

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङ्स र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ।

आइतबार ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै समेटियो। जितसँगै नेपालले लिग–२ को अंकतालिकामा महत्त्वपूर्ण दुई अंक जोडेको छ।

क्यानडाका ओरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र कप्तान हम्जा तारिकले समान २६ तथा हर्ष ठाकरले १५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै १२७ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो।

रोहितलाई गुल्सनकुमार झाले बलियो साथ दिए। गुल्सनले ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कमालले २३ रनको योगदान गरे।

रोहितले चौथो विकेटका लागि बसिर अहमदसँग ७७ रनको साझेदारी गरे। त्यसपछि छैटौँ विकेटका लागि गुल्सनकुमार झासँग ८२ रन जोड्दै नेपालको इनिङ्स उकासे।

क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद शिरजादले दुई विकेट लिए।

यस जितसँगै ३३ खेलबाट २६ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।

अब नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने क्यानडाले बिहीबार ओमानकै सामना गर्नेछ।