

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
लामिछानेले उद्धारमा सक्रिय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी प्रभावितलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन पार्टीपंक्तिलाई आग्रह गरेका हुन्।
उनले बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अपिल गरेका छन्।
‘बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु,’ उनले भनेका छन्।
लामिछानेले बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विपद्को यस कठिन घडीमा आवश्यक सहयोगमा जुट्न आग्रह गरेका छन्।