

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार भए पनि नढल्ने बताएका छन्। उनले आफूलाई भीष्म पितामहसँग तुलना गर्दै जस्तोसुकै चुनौती आए पनि विचलित नहुने बताएका हुन्।
एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले महाभारतका भीष्म पितामहको प्रसंग निकाले। अर्जुनले प्रहार गरेका अनेकौँ तीरका कारण भीष्म पितामह शरशय्यामा परेको प्रसंग उल्लेख गर्दै उनले आफूमाथि पनि विभिन्न प्रकारका प्रहार भइरहेको बताए।
‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो,’ ओलीले भने।
भीष्म पितामह वृद्ध अवस्थामा शरशय्यामा ढलेको उल्लेख गर्दै आफू अझै त्यति वृद्ध नभएकाले नढल्ने उनको भनाइ थियो। ‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बूढो भइसकेका थिए। म त्यति बूढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ उनले भने।
५७ वर्षदेखि राजनीतिमा सक्रिय रहेको दाबी
ओलीले आफूले साढे पाँच दशकभन्दा बढी समय देश र जनताका लागि राजनीतिमा बिताएको बताए। अझै पनि देश र जनताकै लागि काम गर्ने उनको भनाइ थियो।
‘५७ वर्षअघि यस आन्दोलनको पुनर्गठन, एकीकरण, क्रान्तिकारी आन्दोलन थालेको थिएँ,’ उनले भने, ‘पञ्चायत फाल्ने, राजतन्त्र ढाल्ने र त्यसपछि समाजवादमा पुग्ने भन्ने त्यतिबेलाको उद्देश्य थियो। म जिउँदै हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ।’
आफूले विगतमा पनि राज्यबाट झुटा मुद्दा र जेल सजाय भोग्नुपरेको ओलीले बताए। ‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो,’ उनले भने।
‘बाँचुन्जेल बैरीसँग झुकिँदैन’
ओलीले आफू बाँचुन्जेल कसैका सामु नझुक्ने बताए। जीवनको अन्त्य कहिले हुन्छ भन्ने थाहा नभए पनि मृत्युसम्म संघर्ष जारी राख्ने उनको भनाइ थियो।
‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ उनले भने।
आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशका लागि काम गरेको दाबी गर्दै ओलीले आफूलाई मृत्युसँग डर नभएको पनि बताए।
‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुरा कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन,’ उनले भने, ‘मरिन्छ, यो देशका लागि।’