

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को आगामी शृंखलाका लागि ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार विदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौँमा कार्यक्रम आयोजना गरी राष्ट्रिय टोलीलाई विदाई गरेको हो। क्यानले यसअघि नै एकदिवसीय शृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ।
लिग-२ मा नेपालको यो अन्तिम शृंखला हो। प्रतियोगिता सकिएपछि अंकतालिकाको शीर्ष चार स्थानमा रहने टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोट चरणमा सिधै प्रवेश गर्नेछन्। त्यस्तै अंकतालिकाको अन्तिम चार स्थानमा रहने टोलीले विश्वकप क्वालिफायरका लागि प्ले-अफ खेल्नुपर्नेछ।

सन् २०१८ मा आईसीसीबाट प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि ओमान शृंखला नेपालका लागि महत्वपूर्ण रहेको छ।
विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले प्रिमियर कप तथा ओमानमा यसअघि गरेको प्रदर्शनले टोलीमा सकारात्मक मनोवैज्ञानिक ऊर्जा थपिएको बताए। उनले आगामी शृंखलामा राम्रो प्रदर्शन गर्दै नेपालको एकदिवसीय मान्यता जोगाउनुका साथै टोलीलाई विश्वकप छनोटसम्म पुर्याउने लक्ष्य रहेको बताए।
त्यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले विगतका नतिजाले मैदानमा फर्कंदा टोलीको मनोबल र आत्मविश्वास उच्च हुने बताए। क्यानडा र ओमान अंकतालिकामा नेपालभन्दा माथि रहेकाले दुवै टोलीविरुद्ध स्पष्ट रणनीतिका साथ मैदानमा उत्रिनुपर्ने उनको भनाइ थियो।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म ३६ खेल खेलेको स्कटल्यान्ड ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित दोस्रो तथा समान ३२ खेल खेलेको नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो स्थानमा छ। नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ। नेपाल हाल अंकतालिकाको सातौँ स्थानमा रहेको छ। ओमानमा हुने आगामी शृंखलामा नेपालले क्यानडा र आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ। उक्त शृंखलाबाट नेपालले लिग-२ को आफ्नो अभियान टुंग्याउनेछ।