एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारस्वरूप चाँदीको बल प्रदान गर्ने भएको छ। खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्ने उद्देश्यले कम्पनीले यो पहल अघि बढाएको जनाएको छ।

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। ती टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ। एक्स्ट्रिमको प्रायोजनमा रहेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन्।

यस व्यवस्थाले खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिने कम्पनीको विश्वास छ। एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने यस पहलले खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै एनपीएलको रोमाञ्च थप्ने अपेक्षा गरिएको छ। यसले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण र समर्थकको उत्साह बढाउन पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ।