एनपीएल : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

एनपीएल : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।

चितवनका लागि इंग्ल्यान्डका डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। आन्द्रे रसेलले उनलाई बोल्ड गरेका थिए। त्यस्तै, रवि बोपाराले ३१ र डीआर मुस्लीले २९ रनको योगदान दिए। देव खनालले १२ तथा अर्जुन साउदले ३ रन बनाए।

विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक–एक विकेट लिए। नेपाली बलरले भने विकेट लिन सकेनन्। विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिए। प्रतिश जिसीले ३ ओभरमा २२ रन दिए भने शुभम रञ्जनेले एक ओभरमा १७ रन खर्चिए।

१५८ रनको लक्ष्य पछ्याउन विराटनगरले अब जवाफी ब्याटिङ गर्नेछ। यसअघि आज भएको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। आजै साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।